AADI ENT CARE
Doctor examining patient

विद्यालयमा योग र ध्यानको महत्त्व | Dr. Deepak Regmi - Aadi ENT Care

“स्वास्थ्य भनेको केवल रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा पूर्ण सन्तुलित हुनु हो।”
— विश्व स्वास्थ्य संगठन (WHO)

विश्व स्वास्थ्य संगठनले सन् १९४६ मै दिएको स्वास्थ्यको यो परिभाषा आज पनि उत्तिकै सान्दर्भिक छ। तर व्यवहारमा हेर्दा हाम्रो स्वास्थ्य प्रणाली मुख्यतः रोगको उपचारमा केन्द्रित छ भने शिक्षा प्रणाली ज्ञान, सीप र पेशागत दक्षता विकासमा केन्द्रित देखिन्छ। यी दुवै प्रणालीबीच एउटा अत्यन्तै महत्त्वपूर्ण पक्ष अझै पर्याप्त रूपमा समेटिन सकेको छैन—त्यो हो आरोग्य (Wellness)।

आज हामी विद्यालयमा गणित, विज्ञान, भाषा, सूचना प्रविधि तथा अन्य विविध विषयहरू अध्यापन गरिरहेका छौँ। तर तनावलाई कसरी व्यवस्थापन गर्ने, भावनाहरूलाई कसरी सन्तुलित राख्ने, असफलतालाई सिकाइको अवसरका रूपमा कसरी स्वीकार गर्ने, रिस र चिन्तालाई कसरी नियन्त्रण गर्ने, स्वस्थ जीवनशैली कसरी अपनाउने तथा आत्मअनुशासन र सकारात्मक सोच कसरी विकास गर्ने भन्ने जीवनोपयोगी सीपहरू भने विद्यालय शिक्षाको मूल प्रवाहमा अझै पर्याप्त रूपमा समावेश हुन सकेका छैनन्।

यसको परिणामस्वरूप आजका बालबालिका तथा किशोरकिशोरीहरूमा मानसिक तनाव, चिन्ता, अवसाद, अनिद्रा, डिजिटल उपकरणको अत्यधिक प्रयोग, सामाजिक एक्लोपन, अस्वस्थ जीवनशैली तथा व्यवहारजन्य समस्याहरू उल्लेखनीय रूपमा बढिरहेका छन्। यी समस्याहरूले उनीहरूको व्यक्तिगत विकास मात्र होइन, सिकाइ प्रक्रिया, पारिवारिक सम्बन्ध र समग्र सामाजिक स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारिरहेका छन्।

एक चिकित्सकको रूपमा दैनिक अस्पतालमा आउने बिरामीहरूको उपचार गर्दा मैले बारम्बार एउटा साझा सत्य अनुभव गरेको छु—धेरै रोगहरूको जरा अस्वस्थ जीवनशैली, दीर्घकालीन मानसिक तनाव, भावनात्मक असन्तुलन तथा आत्म-व्यवस्थापनको अभावमा रहेको हुन्छ। औषधिले रोगको उपचार गर्न सक्छ, तर स्वस्थ जीवन जिउने संस्कार विकास गराउन सक्दैन। त्यसका लागि आरोग्यमूलक जीवनशैली आवश्यक हुन्छ।

यसैले आजको आवश्यकता केवल “रोग लागेपछि उपचार” होइन, “रोग लाग्नै नदिने संस्कार” निर्माण गर्नु हो। यही संस्कार विकास गर्ने सबैभन्दा प्रभावकारी माध्यम विद्यालय शिक्षा बन्न सक्छ।

आरोग्य किन आवश्यक छ?

विश्व अहिले स्वास्थ्य सेवाको नयाँ चरणतर्फ अग्रसर भइरहेको छ। उपचारमुखी स्वास्थ्य प्रणालीबाट आरोग्यमुखी (Wellness-Oriented) समाज निर्माण गर्ने अवधारणा विश्वव्यापी रूपमा स्थापित हुँदै गएको छ।

नेपालको पहलमा संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Day of Wellness) का रूपमा मनाउने निर्णयले आरोग्यको अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिएको छ। यसैसँगै नेपाल सरकारले सन् २०२७ लाई “आरोग्य वर्ष” का रूपमा मनाउने तथा आरोग्य पर्यटनलाई राष्ट्रिय समृद्धिको आधारका रूपमा विकास गर्ने नीति अघि सारेपछि नेपालमा पनि आरोग्यप्रति नयाँ चासो र बहस सुरु भएको छ।

आज विश्वभरि नसर्ने रोगहरू (Non-Communicable Diseases) जस्तै उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मोटोपना, चिन्ता, अवसाद तथा निद्रासम्बन्धी समस्याहरू तीव्र रूपमा बढिरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यस्ता नसर्ने रोगहरूले विश्वमा हुने कुल मृत्युको ठूलो हिस्सा ओगटेका छन्। यिनका प्रमुख कारणहरूमा असन्तुलित आहार, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, मानसिक तनाव तथा अस्वस्थ जीवनशैली पर्दछन्।

त्यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा भएका अनुसन्धानहरूले विश्वका करिब आधाभन्दा बढी मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू किशोरावस्थामै सुरु हुने देखाएका छन्। यदि विद्यालय स्तरमै विद्यार्थीहरूमा आत्मअनुशासन, भावनात्मक सन्तुलन, स्वस्थ बानी, सकारात्मक सोच तथा मानसिक लचकता (Resilience) विकास गर्न सकियो भने भविष्यमा धेरै मानसिक तथा शारीरिक रोगहरूको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

यसकारण आरोग्य शिक्षा कुनै अतिरिक्त कार्यक्रम होइन; यो भविष्यका स्वस्थ नागरिक निर्माण गर्ने आधारभूत शिक्षा हो। विद्यालयले यदि जीवनका लागि आवश्यक आरोग्य संस्कार सिकाउन सफल भयो भने त्यसले केवल विद्यार्थीको स्वास्थ्यमा मात्र होइन, परिवार, समाज र समग्र राष्ट्रको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ।

योग, प्राणायाम र ध्यान : परम्परा मात्र होइन, विज्ञानले प्रमाणित गरेको आरोग्यको आधार

एक समय थियो, जब योग, प्राणायाम र ध्यानलाई केवल आध्यात्मिक वा धार्मिक अभ्यासका रूपमा मात्र बुझिन्थ्यो। तर पछिल्ला तीन दशकमा विश्वभर भएका हजारौं वैज्ञानिक अनुसन्धानहरूले यी अभ्यासहरू शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यका लागि प्रभावकारी, सुरक्षित र कम खर्चिला उपाय भएको पुष्टि गरेका छन्। यही कारणले आज विश्वका प्रतिष्ठित विश्वविद्यालय, अस्पताल र स्वास्थ्य संस्थाहरूले पनि योग र ध्यानलाई समग्र स्वास्थ्य प्रवर्द्धन (Health Promotion) तथा रोग व्यवस्थापनको सहायक विधिका रूपमा स्वीकार गरेका छन्।

विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा यस्ता अभ्यासहरूको महत्त्वलाई जोड दिएको छ। त्यस्तै, अमेरिकाको National Institutes of Health (NIH) अन्तर्गतको National Center for Complementary and Integrative Health (NCCIH) ले योगलाई प्रमाणमा आधारित पूरक स्वास्थ्य अभ्यासका रूपमा उल्लेख गरेको छ। यसले योगले दीर्घकालीन ढाड दुखाइ, तनाव, चिन्ता तथा निद्रासम्बन्धी समस्यामा सकारात्मक प्रभाव पार्ने देखाएको छ।

योग : शरीर, मन र चेतनाको समन्वय

योग केवल शारीरिक व्यायाम होइन; यो शरीर, मन, श्वास र चेतनाबीचको सन्तुलन स्थापित गर्ने समग्र जीवनपद्धति हो। नियमित योगाभ्यासले शरीरको लचकता, मांसपेशीको शक्ति, सन्तुलन तथा शारीरिक सहनशीलता वृद्धि गर्नुका साथै मुटु तथा श्वासप्रश्वास प्रणालीको कार्यक्षमतामा पनि सुधार ल्याउँछ।

चिकित्सकीय अनुसन्धानहरूले नियमित योग अभ्यासले उच्च रक्तचाप, मधुमेह, मोटोपना, दीर्घकालीन ढाड तथा घाँटी दुखाइ, हड्डी–जोर्नीसम्बन्धी समस्या तथा केही नसर्ने रोगहरूको जोखिम घटाउन सहयोग पुर्‍याउने देखाएका छन्। साथै, नियमित योगले शरीरमा हुने दीर्घकालीन सूजन (Chronic Inflammation) कम गर्न र रोग प्रतिरोधात्मक क्षमता सुदृढ बनाउन पनि सकारात्मक भूमिका खेल्ने प्रमाणहरू बढ्दै गएका छन्।

प्राणायाम : श्वासमार्फत स्नायु प्रणालीको सन्तुलन

प्राणायामलाई सामान्य श्वासप्रश्वासको अभ्यास मात्र ठान्नु यसको महत्त्वलाई सीमित रूपमा बुझ्नु हो। वैज्ञानिक दृष्टिकोणले हेर्दा, नियन्त्रित र सचेत श्वासप्रश्वासले स्वायत्त स्नायु प्रणाली (Autonomic Nervous System) मा प्रत्यक्ष प्रभाव पार्छ। विशेषगरी, यसले शरीरलाई तनावको अवस्थामा सक्रिय हुने Sympathetic Nervous System को प्रभाव कम गरी विश्राम, पुनर्स्थापना र सन्तुलनका लागि जिम्मेवार Parasympathetic Nervous System लाई सक्रिय बनाउँछ।

यसको परिणामस्वरूप मुटुको धड्कन सन्तुलित हुन्छ, रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ, मानसिक अशान्ति कम हुन्छ र शरीरमा शान्ति तथा स्थिरताको अनुभूति बढ्छ। केही अध्ययनहरूले नियमित प्राणायामले फोक्सोको कार्यक्षमता, अक्सिजन उपयोग गर्ने क्षमता तथा ध्यान केन्द्रित गर्ने क्षमतामा समेत सुधार ल्याउने देखाएका छन्।

ध्यान : मस्तिष्कको व्यायाम

यदि शरीरका लागि व्यायाम आवश्यक छ भने मनका लागि ध्यान उत्तिकै आवश्यक अभ्यास हो। ध्यानले व्यक्तिलाई वर्तमान क्षणमा सजग रहन, आफ्ना विचार र भावनालाई निष्पक्ष रूपमा अवलोकन गर्न तथा अनावश्यक मानसिक प्रतिक्रियाबाट मुक्त हुन मद्दत गर्छ।

आधुनिक न्यूरोसाइन्सका अनुसन्धानहरूले नियमित ध्यान अभ्यासले मस्तिष्कको संरचना र कार्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउने देखाएका छन्। विशेषगरी, सिकाइ, स्मरणशक्ति, निर्णय क्षमता, भावनात्मक नियन्त्रण तथा आत्मचेतनासँग सम्बन्धित मस्तिष्कका भागहरू सक्रिय र सुदृढ हुने प्रमाणहरू प्राप्त भएका छन्। साथै, ध्यानले तनावसँग सम्बन्धित Cortisol हार्मोनको स्तर घटाउन तथा चिन्ता र अवसादका लक्षण कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

विद्यार्थीका लागि वैज्ञानिक रूपमा प्रमाणित लाभहरू

विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरीहरूमा योग, प्राणायाम र ध्यानको नियमित अभ्यासले निम्न सकारात्मक प्रभावहरू देखिएका छन्—

  • सिकाइमा एकाग्रता र स्मरणशक्ति वृद्धि।
  • परीक्षा तथा प्रतिस्पर्धासम्बन्धी तनावमा कमी।
  • भावनात्मक सन्तुलन र आत्मनियन्त्रणमा सुधार।
  • आत्मविश्वास, आत्मसम्मान र सकारात्मक सोचको विकास।
  • अनुशासन, धैर्यता तथा सहकार्यको भावना अभिवृद्धि।
  • निद्राको गुणस्तरमा सुधार।
  • मोबाइल तथा डिजिटल उपकरणप्रतिको अत्यधिक निर्भरता नियन्त्रण गर्न सहयोग।
  • विद्यालय अनुपस्थित हुने दर तथा व्यवहारजन्य समस्यामा कमी।
  • समग्र शारीरिक र मानसिक आरोग्यमा सुधार।

 

शिक्षकका लागि पनि उत्तिकै महत्त्वपूर्ण

योग, प्राणायाम र ध्यानका लाभ विद्यार्थीमा मात्र सीमित छैनन्। शिक्षकहरू निरन्तर अध्यापन, मूल्याङ्कन, प्रशासनिक जिम्मेवारी तथा अभिभावकसँगको समन्वयका कारण उच्च मानसिक दबाबमा रहने पेशाकर्मी हुन्। नियमित योग र ध्यानले शिक्षकहरूको तनाव घटाउने, भावनात्मक स्थिरता बढाउने, पेशागत थकान (Burnout) कम गर्ने तथा कक्षाकोठामा सकारात्मक ऊर्जा र धैर्यता कायम राख्न सहयोग गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

विद्यालयमा किन आवश्यक?

आजको शिक्षाको उद्देश्य केवल परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तयार गर्नु मात्र होइन, जीवनका चुनौतीहरू सामना गर्न सक्ने, मानसिक रूपमा सुदृढ, शारीरिक रूपमा स्वस्थ, भावनात्मक रूपमा परिपक्व तथा सामाजिक रूपमा जिम्मेवार नागरिक निर्माण गर्नु पनि हो।

यदि प्रत्येक विद्यालयले दैनिक १०–१५ मिनेट योग, प्राणायाम, ध्यान तथा कृतज्ञता अभ्यासलाई विद्यालय संस्कृतिको अभिन्न भाग बनाउन सकेमा त्यसको प्रभाव विद्यार्थीको व्यक्तिगत स्वास्थ्यमा मात्र सीमित रहने छैन; यसले सम्पूर्ण विद्यालयको सिकाइ वातावरण, अनुशासन, शिक्षक–विद्यार्थी सम्बन्ध तथा समग्र शैक्षिक गुणस्तरमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्छ।

नेपालका विद्यालयमा आरोग्य शिक्षाको आवश्यकता

नेपालमा विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। यद्यपि, ती कार्यक्रमहरू मुख्यतः शारीरिक स्वास्थ्य, पोषण, सरसफाइ तथा संक्रामक रोगको रोकथाममा केन्द्रित छन्। मानसिक, भावनात्मक तथा आध्यात्मिक आरोग्यलाई व्यवस्थित र निरन्तर रूपमा विद्यालय शिक्षाको मूल प्रवाहमा समेट्ने अभ्यास भने अझै सीमित छ।

आजको विद्यार्थी केवल शैक्षिक प्रतिस्पर्धाको दबाबमा मात्र छैन; उनीहरू डिजिटल प्रविधिको तीव्र विस्तार, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक संरचनामा आएको परिवर्तन, भविष्यप्रतिको अनिश्चितता तथा सामाजिक अपेक्षाका कारण पनि मानसिक दबाब अनुभव गरिरहेका छन्। यस्तो परिवेशमा केवल पाठ्यपुस्तकले मात्र जीवनका चुनौतीहरूको सामना गर्न आवश्यक क्षमता विकास गर्न सक्दैन।

त्यसैले विद्यालय शिक्षामा निम्न विषयहरूलाई जीवन शिक्षाका रूपमा क्रमशः समावेश गर्नु समयको आवश्यकता हो–

    •    दैनिक योग तथा प्राणायाम
    •    ध्यान तथा माइन्डफुलनेस (Mindfulness) अभ्यास
    •    भावनात्मक साक्षरता (Emotional Literacy)
    •    तनाव व्यवस्थापन
    •    स्वस्थ जीवनशैली र निद्रा स्वच्छता (Sleep Hygiene)
    •    डिजिटल सन्तुलन (Digital Well-being)
    •    सकारात्मक सोच र आत्मअनुशासन
    •    कृतज्ञता, करुणा तथा सहअस्तित्वका अभ्यास

यी विषयहरू अतिरिक्त क्रियाकलाप मात्र होइनन्; भविष्यका स्वस्थ, जिम्मेवार र नैतिक नागरिक निर्माण गर्ने आधारभूत जीवन सीप (Life Skills) हुन्।

विद्यालयमा आरोग्य शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न ठूलो आर्थिक लगानी आवश्यक पर्दैन। प्रत्येक दिनको सुरुवात १०–१५ मिनेटको योग, प्राणायाम, ध्यान वा मौन चिन्तनबाट गर्न सकिन्छ। यसका लागि प्रशिक्षित शिक्षक, स्थानीय स्रोत व्यक्तिहरू वा सम्बन्धित संस्थासँग सहकार्य गर्न सकिन्छ।

यस प्रकारको अभ्यासले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्नुका साथै विद्यालयको समग्र वातावरणलाई शान्त, अनुशासित, सहयोगी र सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

 

जीवन विज्ञान : व्यवहारमा आधारित आरोग्य अभियान

आरोग्यको यही आवश्यकतालाई आत्मसात् गर्दै जीवन विज्ञानले विगत डेढ़ दशकभन्दा बढी समयदेखि योग, प्राणायाम, ध्यान, आत्मचिन्तन तथा जीवन व्यवस्थापनका व्यवहारिक अभ्यासहरू समाजका विभिन्न तहसम्म पुर्‍याउने अभियान सञ्चालन गर्दै आएको छ।

जीवन विज्ञानको मूल दर्शन मानव जीवनलाई केवल रोगमुक्त बनाउनु मात्र होइन; व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित, स्वस्थ र आनन्दमय जीवनतर्फ उन्मुख गराउनु हो। यसको केन्द्रबिन्दु व्यवहारमा परिवर्तनमार्फत व्यक्तिगत तथा सामाजिक रूपान्तरण हो।

यस अभियानअन्तर्गत विद्यालय, महाविद्यालय, विश्वविद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, उद्योग, सुरक्षा निकाय तथा विभिन्न सामाजिक संस्थाहरूमा नियमित रूपमा योग, प्राणायाम, ध्यान, भावनात्मक स्वास्थ्य तथा जीवन व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

विशेष गरी विद्यार्थीहरूलाई लक्षित ‘नवप्रतिभा विज्ञान’ कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीहरूमा आत्मविश्वास, एकाग्रता, अनुशासन, भावनात्मक सन्तुलन र सकारात्मक जीवनदृष्टिको विकास गर्न योगदान पुर्‍याइरहेको छ। देशका विभिन्न विद्यालयहरूमा यसको प्रभावकारी अभ्यास भइरहेको छ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा विद्यालयहरूका लागि ५, १५ र २५ मिनेट अवधिका योग तथा ध्यान अभ्यासहरू ‘सिकाइ चौतारी’ मार्फत उपलब्ध गराइनु आरोग्य शिक्षालाई संस्थागत बनाउने दिशामा महत्त्वपूर्ण कदम हो।

हाल नेपाल सरकारका विभिन्न मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, Centre for Education and Human Resource Development (CEHRD), नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) लगायतका निकायहरूसँग सहकार्य गर्दै आरोग्यसम्बन्धी पाठ्यक्रम विकास, संवाद तथा नीतिगत छलफलहरू पनि निरन्तर अघि बढिरहेका छन्।

शिक्षालाई केवल सूचना वा सीप हस्तान्तरणको माध्यम नभई जीवन निर्माणको आधार बनाउने उद्देश्यका साथ आध्यात्मिक दृष्टिकोणबाट निम्न पाँच आधारभूत स्तम्भहरूमा विशेष जोड दिइएको छ–

१. खुसी र आरोग्यका लागि शिक्षा
२. सिर्जनशीलता र नवप्रवर्तनका लागि शिक्षा
३. जिम्मेवारी र पारदर्शिताका लागि शिक्षा
४. शान्ति, करुणा र सहअस्तित्वका लागि शिक्षा
५. सहकार्य, नेतृत्व तथा कार्यसम्पादनका लागि शिक्षा

यी पाँच स्तम्भहरूले २१औँ शताब्दीको शिक्षालाई केवल ज्ञानमुखी होइन, जीवनमुखी बनाउने दिशामा मार्गदर्शन गर्न सक्छन्।

Amritam Gamaya AADI Multispeciality & ENT Care को पहल : उपचार र आरोग्यबीचको पुल

आधुनिक चिकित्सा विज्ञानले रोगको पहिचान, उपचार र जीवनरक्षा क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ। तर केवल उपचारले मात्र स्वस्थ समाज निर्माण गर्न सकिँदैन। स्वस्थ समाज निर्माणका लागि रोगको उपचारसँगै रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन तथा आरोग्यमूलक जीवनशैलीको विकासलाई समान प्राथमिकता दिन आवश्यक छ।

यही विश्वासका साथ Amritam Gamaya AADI Multispeciality & ENT Care Pvt. Ltd. ले आधुनिक चिकित्सा सेवासँगै स्वास्थ्य प्रवर्द्धन (Health Promotion) र आरोग्य शिक्षालाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अघि बढाइरहेको छ।

हामी चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै योग, प्राणायाम, ध्यान, मानसिक स्वास्थ्य तथा आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ। विशेषगरी विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरूले सहभागीहरूमा सकारात्मक सोच र आत्म-हेरचाह (Self-care) को संस्कार विकास गर्न सहयोग पुर्‍याइरहेका छन्।

यससँगै विद्यालयस्तरमा योग, प्राणायाम, ध्यान तथा आरोग्य शिक्षाको प्रभावकारितासम्बन्धी अनुसन्धान र प्रमाण सङ्कलनलाई पनि प्रोत्साहन गरिएको छ। भविष्यमा विद्यालय स्वास्थ्य नीतिहरूलाई अझ प्रभावकारी बनाउन यस्ता अनुसन्धानहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

हाम्रो दृष्टिमा भविष्यको उत्कृष्ट अस्पताल केवल रोगको उपचार गर्ने संस्था मात्र होइन; स्वस्थ जीवनशैली सिकाउने, रोगको रोकथाम गर्ने र समुदायमा आरोग्य संस्कार विकास गर्ने केन्द्र पनि हुनुपर्छ।

त्यसैगरी, भविष्यको उत्कृष्ट विद्यालय केवल परीक्षा उत्तीर्ण गराउने संस्था मात्र होइन; जीवनका चुनौतीहरू सामना गर्न सक्ने, आत्मअनुशासित, करुणाशील, सृजनशील, जिम्मेवार र आरोग्यमुखी नागरिक निर्माण गर्ने जीवन विद्यालय बन्नुपर्छ।

 

निष्कर्ष

२१औँ शताब्दीमा स्वास्थ्यको परिभाषा उल्लेखनीय रूपमा फराकिलो भएको छ। आज सफल जीवनको आधार केवल शैक्षिक उपलब्धि, आर्थिक समृद्धि वा व्यावसायिक सफलता मात्र होइन; मानसिक सन्तुलन, भावनात्मक परिपक्वता, शारीरिक सक्रियता, नैतिक चेतना र जीवनप्रतिको सकारात्मक दृष्टिकोण पनि उत्तिकै महत्त्वपूर्ण छन्।

योग, प्राणायाम र ध्यान कुनै विशेष धर्म, संस्कृति वा समुदायका अभ्यास मात्र होइनन्। आज यी अभ्यासहरू वैज्ञानिक अनुसन्धानद्वारा समर्थित, सुरक्षित, सरल, कम खर्चिला तथा सबै उमेर समूहका व्यक्तिका लागि उपयोगी आरोग्यका माध्यमका रूपमा विश्वभर स्वीकार गरिएका छन्।

विद्यालय शिक्षाले यदि ज्ञानसँगै आत्मअनुशासन, आत्मचेतना, भावनात्मक सन्तुलन, स्वस्थ जीवनशैली र करुणाको संस्कार पनि विकास गर्न सक्यो भने हामी केवल उत्कृष्ट विद्यार्थी मात्र होइन, असल शिक्षक, सचेत अभिभावक, जिम्मेवार नागरिक र स्वस्थ समाज निर्माण गर्न सक्षम हुनेछौँ।

आरोग्य शिक्षा कुनै अतिरिक्त विलासिता होइन; यो भविष्यका पुस्ताप्रतिको हाम्रो दायित्व हो। विद्यालयमा रोपिएको आरोग्यको एउटा सानो बीउले परिवार, समाज र राष्ट्रसम्म स्वास्थ्य, शान्ति र समृद्धिको वृक्ष फैलाउन सक्छ।

अन्ततः, औषधिले रोग निको पार्न सक्छ, तर आरोग्य शिक्षाले रोग लाग्नै नदिने संस्कार निर्माण गर्छ। त्यसैले विद्यालय, अभिभावक, स्वास्थ्य संस्था, समुदाय र राज्य सबैले संयुक्त रूपमा आरोग्यलाई शिक्षाको अभिन्न अंगका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो।

यदि हामी आजका बालबालिकालाई स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच र करुणामय हृदयका साथ जीवन जिउन सिकाउन सफल भयौँ भने, भोलिको नेपाल केवल आर्थिक रूपमा सम्पन्न राष्ट्र मात्र होइन, आरोग्य, शिक्षा, नैतिकता र मानवीय मूल्यमा पनि विश्वका लागि उदाहरण बन्न सक्नेछ।

“स्वस्थ शिक्षक, स्वस्थ विद्यार्थी, स्वस्थ विद्यालय — यही स्वस्थ, समुन्नत र आरोग्यमय नेपालको आधार हो।”

Prof. Dr. Deepak Regmi

About the Author

Prof. Dr. Deepak Regmi

Chief Executive Officer • Amritam Gamaya AADI Multispecialty and ENT Care Pvt. Ltd

View Profile 11 articles by this author